प्रेस-विज्ञप्ति (अषाढ १४, २०७८)

press-release-20780314

प्रेस विज्ञप्ति

महोत्तरी जिल्ला लोहारपट्टी न.पा.वडा न. ७ भ्रमरपुरा बस्ने वर्ष २६ की सुजिता ठाकुरको शव आफ्नै खेतमा खाल्डो खनेर गाडिएको र सडेको अवस्थामा भेटिएको भन्ने समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। निज सुजिता ठाकुर जेठ १९ देखि बेपत्ता भएकोमा निजको माइती पक्षले निजलाई देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुर सहितको परिवारजनले हत्या गरेर लुकाएको भनी न्याय प्राप्तिको लागि राष्ट्रिय महिला आयोग समक्ष निवेदन गर्नु भएको थियो। गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र जिल्लास्थित प्रहरी प्रशासनसंग समेत पटक पटक समन्वय गरी सोही आधारमा राष्ट्रिय महिला आयोगबाट मिति २०७८/०३/०४ मा माननीय सदस्य विद्या कुमारी सिन्हाको नेतृत्वमा गएको अनुगमन टोलीले घटनाको स्थलगत अनुगमन समेत गरेको थियो। उक्त घटना सम्बन्धमा अनुगमन टोलीले सुजिताको घर परिवार, माइती पक्ष र छरछिमेकलाई समेत भेटी घटनाको बारेमा जानकारी लिनुका साथै बेपत्ता पारिएकी सुजिताको खोज तलासको लागि महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख समेतलाई भेटी घटनाको गम्भीरताका साथ छानविन गर्न निर्देशन दिएको थियो। प्रहरी प्रशासनले उक्त घटनाको जाहेरी दर्ता गर्न अस्वीकार गरि रहेको अवस्थामा राष्ट्रिय महिला आयोगको पहलमा प्रदेश न. २ स्थित आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय समेतको समन्वय र सहयोगमा जाहेरी दर्ता गराइएको थियो। सोही जाहेरी र राष्ट्रिय महिला आयोगको निर्देशनको आधारमा प्रहरी प्रशासनले खोजी कार्य अघि बढाएको थियो। उक्त घटना महिला विरुद्धको जघन्य हिंसा भएकोले यस घटनालाई राष्ट्रिय महिला आयोगले गम्भीर मानव अधिकार हननको रुपमा लिएको छ। तसर्थ यस घटना बारे तदारुकता साथ छानविन गरि सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र दोषीलाई यथाशीघ्र कानून वमोजिम कारवाही गर्नको लागि राष्ट्रिय महिला आयोगबाट सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराइन्छ।

श्यामप्रसाद श्रेष्ठ
उपसचिव एवं प्रवक्ता
अषाढ १४, २०७८