ध्यानाकर्षण

गोपनियताको हक, महिलाको आत्मसम्मान, सुरक्षा र कानूनी अनुसन्धान र नियमन सम्बन्धमा।

None

सञ्चार माध्यम राज्यको चौंथो अंग हो। जनतालाई सुसूचित गराउने, राज्यलाई सचेत र सजग गराउन भूमिका निर्वाह गर्ने प्रमुख दायित्व हो। प्रेस स्वतन्त्रता, मानव अधिकारको रक्षा, र मौलिक हकको सुनिश्चितता संविधान प्रदत्त अधिकार हो। 

तर, अहिले राज्यको चौंथो अंग मानिएको पत्रकारिताको माध्यमबाटै भइरहेको महिला हिंसाका सम्बन्धमा राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई एक युवतीले आफ्नो गोपनियता भङ्ग गरेको आरोपसहित किटानी जाहेरी दिएपछि प्रहरीद्वारा अनुसन्धान भइरहेको विषयप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। साथै,  समाचारको स्रोत बताउन पत्रकारलाई बाध्यता हुँदैन भन्ने भाष्यप्रति पनि राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

पत्रकारिताका नाममा तथ्यहीन समाचार प्रकाशन÷प्रसारण गरेर कुनै पनि व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउनु, सामाजिक र व्यवसायिक छबी धमिल्याउनु, आत्मसम्मानमा ठेस पुर्याउनु, जबरजस्ती कसैको वैयक्तिक जीवनमा खलल पुर्याउनु निन्दनीय कार्य हो। 

सार्वजनिक जीवन व्यतित गरिरहेका महिलाको चरित्रसँग जोडेर जनआस्था साप्ताहिकमा प्रकाशित अतिरञ्जित र भ्रमपूर्ण समाचारले महिलाको वैयक्तिक, पारिवारिक र सामाजिक जीवनमा पार्ने नकारात्मक असर र आघातलाई अनुभूत गर्दै विगतमा पनि धेरै महिलाको गोपनियता भङ्ग गरेको र समाचार कै माध्यमबाट धेरैलाई मानसिक यातना हुने गरेको गुनासाहरू समेत सार्वजनिक भइरहेका छन्। 

सो सम्बन्धमा विधिसम्मत ढंगले प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्दै, निष्पक्ष अनुसन्धान, नियमन र कानूनबमोजिम कारवाहीको लागि राष्ट्रिय महिला आयोग सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछ। 

साथै, जनआस्था साप्ताहिक मात्रै नभई अन्य केही आमसञ्चार माध्यम र सामाजिक सञ्जाल जसले पूर्णतः तथ्यहिन, भ्रमपूर्ण, कपोलकल्पित र अतिरञ्जित समाचार प्रकाशन प्रशारण गरेर महिलाको छबी धमिल्याउने, चरित्र हत्या गर्ने, मानहानी गर्ने गरिरहेका छन्। त्यस्ता फेक समाचार प्रकाशन गरेर सामाजिक बितण्डा गर्ने र व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्तिको अन्त्यको लागि पनि नियमन र अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रिय महिला आयोग अनुरोध गर्दछ।

त्यति मात्रै होइन, अनुसन्धान, नियमन र कारबाहीको प्रक्रिया चलिरहँदा आरोपित व्यक्तिका परिवारका सदस्यहरु समेतको चरित्र हत्या गरिनु, आक्षेप लगाईनु, लाञ्छित गरिनु अर्को निन्दनीय कार्य हो। हाल पत्रकार किशोर श्रेष्ठको पत्नी, बहिनी र छोरीलाई लिएर अस्वभाविक र अमर्यादित भिडियो आईरहेका छन्। यस्ता अवाञ्छित हर्कत गर्ने व्यक्ति उपर पनि तत्काल कानूनी कारवाही गरी महिलाको मर्यादा, आत्मसम्मान र सुरक्षाका लागिसमेत आयोग जोडदार अपील गर्दछ।

 

राष्ट्रिय महिला आयोग

२०८३ श्रावण २९ गते ।