आयोगको काम, कर्तव्य र अधिकार

राष्ट्रिय महिला आयोग ऐन, २०७४ अनुसार आयोगको उद्देश्य बुँदागत रूपमा निम्न बमोजिम रहेको छ:

  • क. महिलाको हकहित संरक्षण एवं संवर्द्धन गर्ने,

  • ख. महिला सशक्तीकरण मार्फत विकासको मूल प्रवाहमा महिला वर्गलाई प्रभावकारी रूपमा समाहित गर्ने,

  • ग. महिलाको समग्र विकास गरी लैङ्गिक न्याय कायम गर्ने,

  • घ. लैङ्गिक समानतासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धिहरू तथा दस्तावेजको कार्यान्वयनको अनुगमन गर्ने।

नेपालको संविधानको धारा २५३ बमोजिम राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार निम्न बमोजिम रहेका छन्:

  • (क) महिलाको हक हितसँग सरोकार राख्ने, नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेस गर्ने,

  • (ख) महिलाको हक हितसँग सम्बन्धित कानुन वा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता अन्तर्गतको दायित्व कार्यान्वयन भए वा नभएको विषयमा अनुगमन गरी त्यसको प्रभावकारी पालना वा कार्यान्वयनको उपायसहित नेपाल सरकार समक्ष सुझाव दिने,

  • (ग) महिलालाई राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गर्न तथा राष्ट्रका सबै निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्न मौजुदा नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने, महिला विरुद्धका भेदभाव तथा सामाजिक कुरीति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने वा गराउने,

  • (घ) लैङ्गिक समानता, महिला सशक्तीकरण तथा महिलासँग सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन, अनुसन्धान गरी त्यस्ता कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई सिफारिस गर्ने र सोको अनुगमन गर्ने,

  • (ङ) महिला अधिकारसँग सम्बद्ध नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि वा सम्झौतामा भएको व्यवस्था बमोजिम नेपालले पठाउनुपर्ने प्रतिवेदन तयारीका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,

  • (च) महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा वञ्चित गरेको विषयमा कुनै व्यक्ति वा संस्था विरुद्ध मुद्दा दायर गर्नुपर्ने आवश्यकता देखिएमा कानुन बमोजिम अदालतमा मुद्दा दायर गर्न सम्बन्धित निकाय समक्ष सिफारिस गर्ने।

संवैधानिक व्यवस्था: राष्ट्रिय महिला आयोगले निर्णय गरी आफ्नो काम, कर्तव्य र अधिकारमध्ये कुनै काम, कर्तव्य र अधिकार आयोगको अध्यक्ष, कुनै सदस्य वा नेपाल सरकारको कुनै कर्मचारीलाई तोकिएको सर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ। राष्ट्रिय महिला आयोगको अन्य काम, कर्तव्य, अधिकार तथा तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानुन बमोजिम हुनेछ भन्ने संवैधानिक व्यवस्था रहेको पाइन्छ।

२.२ राष्ट्रिय महिला आयोग ऐन, २०७४ बमोजिम आयोगको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम तोकिएको छः

  • क) महिला सशक्तीकरणका लागि महिलासँग सम्बन्धित नीतिगत, कानुनी व्यवस्था तथा नेपाल सरकारका कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र त्यस्ता नीति तथा कार्यक्रम लैङ्गिक न्यायको दृष्टिकोणबाट प्रभावकारी भए नभएको विश्लेषण गरी सुधार गर्नको लागि नेपाल सरकारलाई सुझाव दिने।

  • ख) संविधान तथा कानुन प्रदत्त महिलाको अधिकार सम्बन्धी व्यवस्थाको कार्यान्वयनको बारेमा अध्ययन तथा अनुसन्धान गरी त्यस्ता व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारलाई सुझाव दिने।

  • ग) महिला विरुद्धको हिंसा वा विभेदको कारणबाट उत्पन्न कुनै समस्या वा विशेष अवस्थाको बारेमा अध्ययन अनुसन्धान गरी त्यस्तो अवस्था उत्पन्न हुन नदिनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिहरूको बारेमा नेपाल सरकारलाई सुझाव दिने।

  • घ) महिलालाई आत्मनिर्भर बनाउन तथा सशक्तीकरणको लागि पुँजी, स्रोत, साधन र प्रविधिमा महिलाको पहुँच बढाउन आवश्यक उपायहरूबारे सम्बन्धित निकायलाई सिफारिस गर्ने।

  • ङ) महिलाको हक हितको संरक्षण र संवर्द्धन तथा महिलाको सशक्तीकरणका लागि आवश्यक सूचना, जानकारी एवम् चेतनामूलक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने।

  • च) महिला विरुद्धका सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न त्यस्ता हिंसा र विभेद सिर्जना गर्ने कुरीति र अन्धविश्वास हटाउन आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने।

  • छ) महिला विरुद्धको हिंसा वा विभेदको कारण सामाजिक रूपमा बहिष्करणमा परेका वा जोखिममा रहेका वा विस्थापित वा पीडित महिलालाई सुरक्षा केन्द्र वा पुनPriorityस्थापना (पुनर्स्थापना) केन्द्रमा पठाउने व्यवस्थाको लागि सिफारिस गर्ने वा गराउने।

  • ज) आयोगले गरेका सिफारिसको कार्यान्वयनको अवस्थाको अनुगमन गर्ने वा गराउने।

  • झ) सदस्य तथा आयोगको कर्मचारीको लागि आचारसंहिता बनाई लागू गर्ने।

  • ञ) आयोगको वार्षिक कार्यक्रम स्वीकृत गर्ने।

आयोगले सम्पादन गर्दै आएका मुख्य कार्यहरू:

  • क) महिलाको हक, हित र अधिकारको विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,

  • ख) नेपाल सरकार तथा अन्य निकायबाट सञ्चालन भएका महिला विकास सम्बन्धी कार्यक्रमहरूको अनुगमन गर्ने,

  • ग) महिला सरोकारका क्षेत्रमा अध्ययन, अनुसन्धान गरी सिफारिस गर्ने,

  • घ) सरोकारवाला निकायहरूसँग साझेदारी तथा समन्वय गर्ने,

  • ङ) "खबर गरौँ ११४५ हेल्पलाइन सेवा" मार्फत हिंसा पीडित महिलाहरूलाई कानुनी तथा मनोपरामर्श गरी न्यायिक उपचारको लागि सहयोग गर्ने।