Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • १७ चैत्र २०८१, सोमबार
  • मोबाईल एप
  • A+ A A-

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

राष्ट्रिय महिला आयोगबाट योगमाया स्मृति दिवस कार्यक्रम आयोजना


IMG

मिति २०७८ असार २२ गते राष्ट्रिय महिला आयोगले महिला जागरणका क्षेत्रमा अतुलनीय योगदान गर्ने सामाजिक सुधार अभियानकी प्रणेता विदुषी योगमायाको स्मृतिमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै तथा योगमायाको व्यक्तित्व र योगदान सम्बन्धमा छलफल र परिसंवाद कार्यक्रम आयोजना गरी योगमाया स्मृति दिवस मनाएको छ । माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्य र राष्ट्रिय महिला आयोगका मानननीय अध्यक्ष श्री कमलाकुमारी पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघीय महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (CEDAW Committee) बाट नेपालको छैटौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्थासम्बन्धमा आयोगको पहलमा तयार भई भर्खरै प्रकाशन गरिएको अध्ययन प्रतिवेदन समेत माननीय मन्त्रीज्यूले सार्वजनिक गर्नुभयो । भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा विभिन्न मन्त्रालय¸ विभाग तथा सरोकारवाला संस्थाका वरिष्ठ प्रतिनिधिज्यूहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि माननीय महिला¸ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री लीलानाथ श्रेष्ठले राणा शासनको कठोर युगमा नागरिकलाई लेख्ने बोल्न तथा संगठन खोल्न बन्देज लगाइएको तथा मानव अधिकारको कुनै गुञ्जायस नभएको अवस्थामा पनि महिला जागरण र सामाजिक सुधारका लागि योगमायाले साहसपूर्ण तरिकाले गरेको योगदान हामी सबैका लागि प्रेरणादायी रहेको कुरा बताउनुभयो । उहाँले योगमायाको व्यक्तित्व र कृतित्वबाट आजका पुस्ताले प्रेरणा लिई महिला हक अधिकारको क्षेत्रमा अझ बढी समर्पित भएर काम गर्न आवश्यक रहेको कुरा मन्तव्यका क्रममा राख्नुभयो । नारीहरूको इज्जत र हक अधिकारको संरक्षणको कार्य राज्यको प्राथमिक दायित्व भएको कुरा उल्लेख गर्दै यस कार्यमा नागरिक समाजका संघसंस्थाहरूको सहयोगको पनि उत्तिकै खाँचो रहेको कुरा उहाँले औँल्याउनु भयो । उहाँले मुलुकमा लैङ्गिक हिंसाका घटना हुन नदिन महिलाको चेतना अभिवृद्धिदेखि महिलालाई राजनैतिक, आर्थिक र सामाजिक रूपमा समेत सशक्तीकरण गर्दै अघि बढ्न आवश्यक छ भन्नुभयो ।

राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमलाकुमारी पराजुलीले आयोगको इतिहासमा पहिलो पल्ट योगमाया दिवस मनाउन लागिएकोमा आयोगको तर्फबाट खुशी व्यक्त गर्दै योगमायाले उठान गरेका महिला विरुद्धका सबैखाले भेदभाव¸अन्याय¸अत्याचार¸कुसंस्कारका विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकारको सशक्त यात्रा आज पनि जारी रहेको र त्यो अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको कुरा बताउनुभयो । उहाँले आज भन्दा एक शताब्दी अगाडिको राणाकालीन शासनको अन्धकारको युगमा महिला समानता¸ स्वतन्त्रता र जागरणको शंखनाद गर्ने योगमाया वास्तवमै साहसिक र परिवर्तनकामी महिला भएको कुरा बताउनुभयो । तत्कालीन समाजमा विद्यमान सतीप्रथा¸बालविवाह¸बहुविवाह¸अनमेल विवाह¸घरेलु हिंसा र दुर्व्यवहार जस्ता महिलाप्रतिका अमानवीय कुप्रथाको खुलेर र जीउज्यानको कुनै पर्वाह नगरी विरोध र विद्रोह गर्न उत्रिनुभएकी योगमाया सबै नेपाली नारीहरूको निम्ति आदरणीय र प्रेरणादायी व्यक्ति भएको कुरा बताउनुभयो । छोरा र छोरीबीचको सामाजिक विभेदलाई अन्त्य गर्दै लैङ्गिक समानता कायम गर्न योगमायाले गरेको त्याग तपस्याको हामी सबैले उच्च मूल्याङ्कन गर्नुपर्ने कुरा उहाँले औँल्याउनुभयो । साथै, उहाँले आज योगमाया स्मृति दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसंघीय महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (CEDAW Committee) बाट नेपालको छैटौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्थासम्बन्धमा तयार भएको अध्ययन प्रतिवेदन सार्वजनिक हुनु अत्यन्त समसामयिक भएको विचार समेत व्यक्त गर्नुभयो ।

आयोगका माननीय सदस्य श्री कृष्णकुमारी पौडेल खतिवडाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आजभन्दा करिब ८० वर्ष पहिले आफ्ना ६८ जनाभन्दा बढी अनुयायीहरूका साथ अरुण नदीमा जलसमाधि लिनुभएकी महिला स्वतन्त्रता र अधिकार आन्दोलनकी अभियन्ता श्री योगमाया न्यौपानेको व्यक्तित्व र योगदान नेपालमा मात्र नभएर विश्व महिला आन्दोलनमै अद्वितीय छ भन्नुभयो । महिलाको न्याय र समाजमा सम्मानपूर्ण स्थान सुनिश्चितताका लागि विदुषी योगमायाले आफ्नो जीवनकालमा गर्नुभएको संघर्ष र बलिदान हामी सबैको लागि गौरवको विषय रहेको चर्चा गर्दै यही कुरालाई हृदयङ्गम गरी राष्ट्रिय महिला आयोगले योगमायाको व्यक्तित्व र योगदान सम्बन्धमा चर्चा परिचर्चा गर्ने उद्देश्यले यो स्मृति कार्यक्रम आयोजना गर्ने निर्णय गरेको कुरा बताउनुभयो ।

युएन् सिड समितिका सदस्य एवं राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष श्री वन्दना राणाले आयोगले योगमाया स्मृति दिवस मनाउने परम्परा शुरु गरेकोमा प्रसन्नता व्यक्त गर्दै अधिकारको लागि आवाज उठाउने कुनै संघ संस्था र फोरम नभएको समयमा पनि स्वस्फूर्त रूपमा महिला हक अधिकारको लागि योगमायाले गरेको योगदानको हामी सबैले मुक्त कण्ठले प्रशंसा गर्नुपर्ने कुरा बताउनुभयो । आयोगको पहलमा तयार भई प्रकाशन भएको संयुक्त राष्ट्रसंघीय महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (CEDAW Committee) बाट नेपालको छैटौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनले सिड महासन्धिको कार्यान्वयन सम्बन्धमा हाल सम्मको स्थितिलाई उजागर गर्नुका साथै कार्यान्वयन गर्न बाँकी विषयमा समेत नेपाल सरकार लगायत सम्बन्धित सबै निकायहरूलाई आवश्यक पहलकदमी लिन सहयोग पुर्‍याउने विचार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा प्रदेशस्तरमा समेत सिड महासन्धिको कार्यान्वयनको अवस्था समीक्षा गरी प्रतिवेदनमा विवरण समावेश गर्न आवश्यक रहेको कुरा औँल्याउनुभयो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय महिला आयोगका उपसचिव श्री लक्ष्मी आचार्य पराजुलीले गर्नुभएको थियो ।