मोबाईल एप 
Logo of National Women Commission
Nepali waving flag
राष्ट्रिय महिला आयोग
National Women Commission
भद्रकाली प्लाजा, काठमाडौँ, नेपाल
Logo of National Women Commission

राष्ट्रिय महिला आयोगबाट सुरक्षित गर्भपतन सेवालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल कार्यक्रमको आयोजना

प्रकासित मितिः 2021-08-04

राष्ट्रिय महिला आयोगले आज मिति २०७८ साउन १९ गते सुरक्षित गर्भपतन सेवालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउने सम्बन्धमा के कस्तो प्रावधानहरू समेटेर यस सम्बन्धी निर्देशिका बनाउन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा सम्बन्धित क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गर्‍यो । आयोगका माननीय अध्यक्ष श्री कमलाकुमारी पराजुलीको अध्यक्षतामा आयोजित उक्त छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मस्यौदा भइरहेको सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन तथा कार्यविधि निर्देशिकालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउने दृष्टिले समेट्नु पर्ने विषयहरू सम्बन्धमा सहभागीहरूबीच सघन छलफल भएको थियो । छलफल कार्यक्रममा आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नेपाल परिवार नियोजन संघ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग महिला संघका वरिष्ठ प्रतिनिधिहरू तथा प्रजनन स्वास्थ्य अधिकार कार्यसमूहमा आबद्ध संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

छलफल कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका डा. पुण्य पौडेलले सुरक्षित गर्भपतन सेवा सम्बन्धमा नेपाल सरकारको प्रमुख कानूनी तथा नीतिगत व्यवस्थाका साथै हाल तर्जुमाका क्रममा रहेको सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन तथा कार्यविधि निर्देशिका, २०७८ को मुख्य प्रावधानहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक श्री सविन श्रेष्ठले सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन तथा कार्यविधि निर्देशिकालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउन समावेश गर्नुपर्ने मुख्य मुख्य विषयहरू सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष माननीय कमलाकुमारी पराजुलीले नेपालको संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकको सुनिश्चितता गरेको सन्दर्भमा हाल तर्जुमाको चरणमा रहेको सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन तथा कार्यविधि निर्देशिकालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउन सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा हुने छलफल कार्यक्रमबाट सघाउ पुग्ने भएको हुँदा आयोगबाट यस किसिमको कार्यक्रम आयोजना गरिएको कुरा बताउनु भयो । उहाँले असुरक्षित गर्भपतनले किशोरी उमेरका तथा अपाङ्गता भएका महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पुग्ने भएको हुँदा यस सम्बन्धमा सचेतना अभिवृद्धिका साथै सुरक्षित गर्भपतन सेवालाई सबैको सहज पहुँचमा पुर्‍याउनुपर्ने खाँचो रहेको कुरा बताउनुभयो । आयोगका माननीय सदस्य श्री कृष्णकुमारी पौडेल खतिवडाले किशोरीहरूलाई सचेतना अभिवृद्धि गरी असुरक्षित गर्भधारण हुने अवस्था सिर्जना हुन नदिन तथा यस सम्बन्धी सेवालाई थप प्रभावकारी बनाउन जोड दिनुपर्ने कुरा बताउनुभयो । माननीय सदस्य जया घिमिरेले सरकारले तर्जुमा गर्ने कुनै पनि कानून, कार्यविधि तथा निर्देशिकामा लक्षित समूहको सवाललाई समावेश गर्न सकेको खण्डमा कार्यान्वयन पक्ष प्रभावकारी हुने हुँदा प्रस्तावित निर्देशिकामा आज छलफल कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूले उठाउनुभएको विषयलाई समावेश गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । माननीय सदस्य सावित्राकुमारी शर्माले सुरक्षित गर्भपतन सेवालाई किशोरी र अपाङ्गता मैत्री बनाउन सम्बन्धित सरोकारवाला निकायहरूको छलफलबाट धेरै उपयोगी सुझावहरू प्राप्त भएको र तिनलाई प्रस्तावित निर्देशिकामा समेट्न आवश्यक भएको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका महासचिव श्री मीना पौडेल, महिला अपाङ्ग महासंघका अध्यक्ष श्री निर्मला धिताल, नेपाल परिवार नियोजन संघका श्री प्रमिज थापा, मेरीस्टोप्सका श्री के.पी. उपाध्याय, आइपास नेपालका कन्ट्री डाइरेक्टर डा. पपुलर जेन्टल र माधवी बज्राचार्य, योशानका अध्यक्ष श्री दुर्गा सापकोटा, महिला कानून र विकास मञ्चका श्री नवीन श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष श्री रमा ढकाल, कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका कानून अधिकृत श्री मञ्जु खड्का र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव श्री रोशनी देवी कार्की लगायतले प्रस्तावित निर्देशिकालाई किशोरी तथा अपाङ्गता मैत्री बनाउन समेट्नु पर्ने विभिन्न विषयमा बुँदागत रूपमा आ-आफ्नो सुझाव राख्नुभएको थियो । छलफल कार्यक्रममा प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा कार्यान्वयनको अवस्थाका बारेमा राष्ट्रिय महिला आयोगले स्थलगत अनुगमन गरी थप प्रभावकारी बनाउन जोड दिनुपर्ने विषयमा समेत सहभागीहरूले सुझाव दिनुभएको थियो ।

कार्यक्रममा छलफल कार्यक्रमको मोडरेशन आयोगका सचिव श्री मनोजकुमार आचार्यले र कार्यक्रमको सञ्चालन आयोगको महिला विकास समन्वय शाखाका उपसचिव श्री अञ्जु ढुङ्गानाले गर्नुभएको थियो ।

कार्यक्रमहरू

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने नाराको साथ विश्वव्यापी रुपमा सञ्चालन भईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगद्वारा मिति २०८०।८।१० गते अभियान शुभारम्भ कार्यक्रम

"खबर गरौं हेल्पलाइन; ११४५" को छैठौं स्थापना दिवस विशेष कार्यक्रम

राष्ट्रिय महिला आयोगको २१ औं स्थापना दिवस तथा ११३ ‌औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम

लैङ्गिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे अन्तरक्रिया कार्यक्रम

cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram